
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता माधव नेपालसहित चार जनाले पार्टीले सोधेका स्पष्टीकरणमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रति स्पष्टीकरण मागेपछि भट्टराई यस्तो आग्रह गरेका हुन् ।
विहीबार साझा ट्वीटरमा उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’
सर्वोच्चले २३ फागनुमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल – नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल – नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।