काठमाडौं । सत्ता गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी नेपालले निर्णय गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने प्रक्रियामा ढिला हुँदै गएको छ ।

ओली नेतृत्वको सरकारविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालसहितको गठबन्धन बन्ने चर्चा चलिरहेको समयमा एकाएक यी तीन दल तीनतिर फर्किएका छन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा माओवादी केन्द्र र नेकपा एमाले साविककै हैसियतमा फर्किएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेको छ । यद्यपि हालसम्म माओवादी केन्द्रले सरकारप्रतिको समर्थन फिर्ता लिएको छैन ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा पर्छ । यस्तो अवस्थामा सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यतिबेला सरकारलाई विश्वासको मत लिनका लागि काँग्रेस वा जसपा नेपालमध्ये कुनै एक दलको साथ चाहिन्छ ।

यी दुवै दलसँग माओवादी केन्द्रको सहकार्य हुने हो भने ओली सरकार स्वतः विस्थापित हुन्छ । यसका लागि यी तीनवटै दल न्यूनतम साझा बिन्दुमा आउनुपर्ने हो । तर अहिलेसम्म एक अर्काप्रतिको अविश्वासले उनीहरुबीच सहकार्यको खाकासमेत बन्न सकेको छैन ।

परिणामस्वरुप माओवादी केन्द्रले हालसम्म सरकारप्रतिको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै कारण आफूहरुले मात्र किन हतार गर्ने भन्ने जसपा नेपालका नेताहरु बताउँछन् ।

जसपा नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले भने, ‘माओवादी केन्द्र अहिले पनि सत्ताधारी दल नै हो, पहिला उसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ अनिमात्र जसपा नेपालले थप निर्णय गर्छ ।’

काँग्रेसले पनि माओवादी केन्द्रकै कोर्टमा बल रहेको जिकिर गर्दै आएको छ । ओली नेतृत्वको सरकारको विकल्प खोज्नका लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने र त्यसपछि तीन दलको सहमतिमा अविश्वास प्रस्ताव दर्ता हुनुपर्ने काँग्रेसको तर्क छ ।

यस्तो अवस्थामा शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले माओवादी केन्द्र, काँग्रेस र एमाले (माधव समूह) ले के निर्णय गर्छ, त्यो हेरेरमात्र कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ । त्यो निर्णयले तत्काल तीन दलीय गठबन्धन नबन्ने अवस्था सिर्जना भएको छ ।

पदाधिकारीको बैठकपछि जसपा नेपालकै पूर्व राजपा नेपाल पक्षको छुट्टै बैठक बसेको थियो । सो बैठकले पनि तीन दलको निर्णय हेरेरमात्र कुनै निर्णय गर्ने सहमति गरेको थियो ।

काँग्रेस पार्टीका नेता आनन्द ढुङ्गानाले देशको संकट निवारणका लागि काँग्रेस तयार छ तर त्यसका लागि दलगत निर्णयहरु आउनुपर्ने बताए ।

‘जसपा नेपालले होलीपछि मात्र निर्णय गर्ने भनेको छ, माओवादी केन्द्रले पनि सरकारबाट समर्थन फिर्ता लिएको छैन,’ उनले भने, ‘अनि काँग्रेसले मात्र के गर्नु ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा काँग्रेसले भनिसकेको र समय आएपछि अन्य कदम पनि चाल्न तयार रहेको ढुङ्गाना बताउँछन् ।

‘अहिलेको अवस्थामा काँग्रेसले मात्र गरेर केही हुँदैन, जसपा नेपाल, माओवादी केन्द्रलगायतका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आउन आवश्यक छ,’ उनले भने, ‘तर माओवादी र जसपा अनिर्णित भएका छन् ।’

माओवादी केन्द्र भने सरकारप्रतिको समर्थन फिर्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा मागिसकेको र समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए । उनले भने, ‘पार्टीले उपयुक्त समयमा आफ्नो समर्थन फिर्ता लिन्छ ।’

माओवादी केन्द्रलाई पनि डर छ । सरकारबाट समर्थन फिर्ता लिइसकेपछि काँग्रेस र जसपा नेपालले साथ नदिने हो कि भन्ने आशंकामा माओवादी केन्द्र छ । समर्थन फिर्तापछि प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा जसपा वा काँग्रेसले वर्तमान सरकारलाई समर्थन गरिदियो भने राजनीतिक अवस्था अर्कैतिर जान सक्ने आँकलन गर्दै माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता लिइरहेको छैन ।

माओवादी केन्द्र पनि जसपा नेपालले केही निर्णय लेला भनि पर्खाइमा थियो । जसपा नेपालले निर्णय लिएमा केही कदम चाल्न सजिलो हुन्छ भन्ने माओवादी केन्द्रको आंकलन थियो, तर जसपा नेपालको आन्तरिक विवादका कारण कुनै निर्णय त भएन नै, पार्टीको बैठक नै अनिश्चितकालका लागि स्थगित भयो ।

काँग्रेस–माओवादी केन्द्रलाई समर्थन गर्ने कि एमालेलाई समर्थन गर्ने भन्नेबारे जसपामा विवाद भएका कारण माओवादी केन्द्र झन् झस्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध संघर्षमा उत्रिएका यी तीन राजनीतिक दल उतिबेलै संयुक्त आन्दोलनको तयारीमा जुटेका थिए । यद्यपि नेपाली काँग्रेसको अनिच्छाका कारण त्यतिबेला सरकारविरुद्धको गठबन्धन बन्न सकेको थिएन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि तीन दलबीच सत्ता साझेदारीका लागि छलफल हुँदै आएको थियो । तर नेकपा विवादमा सर्वोच्च अदालतले गरेको फैसलापछि भने सत्ता अंकगणितमा जसपा नेपालको भूमिका महत्वपूर्ण बनेको छ । जसपा नेपालले ओली सरकारलाई साथ दिएको अवस्थामा यही सरकारले निरन्तरता पाउन सक्ने अवस्था देखिन्छ भने विपक्षी गठबन्धनबाट सरकारको विकल्प खोज्न सक्ने परिस्थिति निर्माणका लागि पनि जसपा नेपालकै भूमिका महत्वपूर्ण हुने देखिन्छ । निर्णायक भूमिकामा रहेको जसपा नेपाल भने अहिले काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको निर्णय आइसकेपछि मात्र आफ्नो भूमिका निर्धारण गर्ने पक्षमा देखिएको छ । Ratopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय