
चैत्र ५ काठमाडौं । नेकपा एमाले खनाल नेपाल समुहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न भएको छ । भेलाले अध्यक्ष ओलीले गरेका सबै निर्णयहरु अस्वीकार गर्ने निर्णय गरेको छ ।
भेलाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गरेका निर्णय पार्टी विधान विपरीत रहेको ठहर गर्दै अस्वीकार गर्ने एक नेताले बताए ।
भेलाले १७ बुदे प्रस्ताव पनि पारित गरेको छ ।
केपी ओलीबाट प्रतिनिधिसभालाई विघटन गरेर गरेको राजनीतिक अस्थिरता र पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रियहित विरुद्ध अग्रसर हुन भेलाले सबैलाई अनुरोध गरेको छ।
नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्।
ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।
एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ । ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।
उता ओली समुहले भने भेलामा सहभागी भएकाहरुले आत्मालोचना नगरे अनुशासनको कार्बाही गर्ने चेतावनी दिएको छ । आज बसेको संसदीय दलको बैठकमा यस्तो चेतावनी दिईएको हो ।