
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेतासँग शनिबार पेरिसडाँडामा भएको छलफलबाट बाहिरिएका नेता यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने दोहोर्याए।
‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू,’ यादवले भने,‘आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो।’
उनले ओलीलाई सरकाबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको बताए। यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने जानकारी दिए।
यादवले सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको दाबी गरे। उनले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको खुलासा गर्दै रेशमलाई सरकारले रिहा गरिदिए धन्यवाद दिने बताए।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए।
बैठकले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निस्कर्ष निकालेको यादवले जानकारी दिए। ओलीको सर्वसत्तावादविरुद्ध संघर्ष गर्ने निस्कर्ष निकालिएको यादवको भनाइ थियो ।
बैठकमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरले भने छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए।
ठाकुरले आफूहरुका लागि एमाले,कांग्रेस र माओवादी सबै उस्तै रहेको भन्दै सत्ता समीकरणमा कोही नजिक वा कोही टाढा नरहेको बताए । उनले यो देशमा आफूहरुले कतैबाट सुरक्षा नपाएको गुनासोसमेत गरे ।
‘यो देशमा हाम्रो स्थान छैन,उहाँहरुलाई हाम्रो सहयोग किन चाहियो? सेना, प्रशासन,न्यायपालिका कतैबाट पनि हामीलाई सहयोग छैन, हाम्रा मान्छे छुटाउने र मुद्दा सम्बोधन गर्ने सवालमा सबै उस्तै छन्। हामीले सत्ता समीकरणबारे कुनै निर्णय गरेका छैनौं’, उनले भने,‘छलफललाई निरन्तरता दिने सहमति भयो।’
बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए। उनले यसबारेमा थप छलफल गर्ने बताए।
नयाँ सरकार गठनका विषयमा छलफल भए पनि ठोस निर्णयमा भने नपुगेको नेता श्रेष्ठले जानकारी दिए।
श्रेष्ठकाअनुसार नयाँ सरकार समीकरणका विषयमा दुई दलबीच थप छलफल गर्ने सहमति भएको छ। त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा गरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको नेता श्रेष्ठको भनाई छ।
केही दिनयता जसपाका नेताहरु सत्तारुढ नेकपा एमाले,प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग छलफलमा छन् । setopati