
काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार दलका नेता र सभामुखबीच भएको छलफलपछि नेताहरुलाई बोल्न समय छुट्याइएको हो । समय छुट्याएपछि राजनीतिक दलका तर्फबाट कसले सम्बोधन गर्ने भनेर नाम पठाउनुपर्ने हुन्छ ।
त्यसका लागि दलहरुले संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतक मध्येबाट नाम पठाउनुपर्छ । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलका नेताहरुलाई बैठकमा सम्बोधन गर्न समय छुट्याएको जानकारी दिए । उनले भने, ‘समय छुट्याइएको छ । अब दलहरुले बोल्ने नेताको नाम पठाएपछि क–कसले सम्बोधन गर्ने भन्ने थाहा हुन्छ ।’