
फागुण २६ काठमाडौँ । सत्ता समीकरणमा निर्णायक भूमिकामा देखा परेसँगै जसपा भित्र दुई धार देखा परेको छ । महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेता ओलीसँग वार्तामा जुटेका छन् भने बाबुराम भट्टराई उपेन्द्र यादव लगायतका नेताहरु ओलीलाई समर्थन दिन नहुने अडानमा रहेको बुझिएको छ ।
यसले जसपा भित्र आन्तरीक कलह शुरु भएको छ । सत्ता समीकरण लगायतका बिषयमा छलफल गर्न जसपाले पाँच सदस्यीय कार्यदल बनाएको बिषय सार्वजनिक भए लगत्तंै अन्तरविरोध नयाँ स्तरमा देखा परेको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । ठाकुरले कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए ।
त्यसपछि बैठकमै नेताहरूबीच चर्काचर्की भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ । यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् । चर्को विरोधपछि ठाकुरले संसदीय दलको बैठकमा सांसद चौधरीको रिहाइका लागि मात्रै कार्यदल गठन भएको प्रष्ट पार्ने कोशिस गरेका थिए ।
ठाकुरनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै सल्लाहमा ठाकुरले नेताद्वय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कार्यदलमा राखेका हुन् । कार्यदलका सदस्य शुक्ल र कर्ण दुवै पूर्वराजपा नेता हुन् । सरकार पक्षबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री एवं पार्टी उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई कार्यदलमा छन् । कार्यदलका सदस्यबीच सोमबार बालुवाटारमै वार्ता भएको थियो ।
कार्यदललाई लिएर अध्यक्ष यादव, भट्टराईसहितका नेताले विरोध गरेपछि सबै पक्षसँग छलफल गर्ने र कार्यदलमा थप सदस्यसमेत राख्ने सहमति जुटेको थियो ।
राजपा र संघीय समाजवादी मिलेर बनेको जसपामा दुईधार देखिएसँगै बढी सांसदहरु ठाकुर र महतोको पक्षमा रहेको समेत एक सांसदले दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत लिन केवल १८ सिटको आवस्यकता छ । त्यो जसपा विभाजित हुँदा नै पुग्न सक्ने भएकाले प्रधानमन्त्री ओली समेत जसपा भित्र खेल्न लागि परेको स्रोतको दाबी छ ।
आफू प्रधानमन्त्री भएको तीन वर्ष सम्म जसपासँग भएको सहमति कार्यन्वयन नगरेको र रेशम चौधरी लाई रिहाई गर्ने तत्परता नदेखाएका प्रधानमन्त्री ओलीले पद धरापमा पर्ने स्थिति आए जसपा विभाजित गर्ने र चौधरीलाई रिहाई गर्ने रणनीति सहित जसपाको एक धारलाई साथ लिन सक्ने र यो प्रकृयाले सो पार्टी नै विभाजनको स्थितिमा जान सक्ने चिन्ता एक सांसदले गरेका छन् ।
अहिले माओवादी केन्द्रले काँग्रेस र जसपासँग मिलेर ओलीलाई हटाउने रणनीति बनाए पनि जसपामा देखिएको संकटले त्यो सहज नहुने संकेत बढ्दै गएको छ ।