ताप्लेजुङ । सरस्वती पूजाको अवसरमा पाथीभरा याङवरक गाउँपालिका–१, पञ्चमी नाङ्खोल्याङस्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। साविक नाङ्खोल्याङ–५ फुवा घर भई हाल बुढानिलकण्ठ–५, काठमाडौँ निवासी समाजसेवी शिवप्रसाद खतिवडा, सीता खतिवडा तथा डीएसपी हरि खतिवडाको परिवारको सौजन्यमा ८३ जोर ट्र्याकसुट वितरण गरिएको हो। उक्त सामग्री ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको समन्वयमा उपलब्ध गराइएको थियो भने वितरण पनि उहाँकै हातबाट गरिएको थियो। कार्यक्रममा गौतम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय धर्मप्रसाद खतिवडाको स्मृतिमा उहाँकी धर्मपत्नी कमलादेवी खतिवडा, छोरा–बुहारी तथा छोरीहरूको तर्फबाट रु. १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको शैक्षिक उन्नयन तथा विद्यार्थी हितका लागि उक्त अक्षयकोष उपयोग गरिने जनाइएको छ।

यसै अवसरमा स्वर्गीय खतिवडाकै स्मृतिमा परिवारको तर्फबाट विभिन्न खेलकुद सामग्री, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै छिमेकी विद्यालय श्री युवा आधारभूत विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई पनि न्यानो कपडा प्रदान गरिएको छ। स्वर्गीय खतिवडाले उक्त विद्यालयमा समेत लामो समय प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन पाथीभरा याङवरक–१ भित्रका विद्यालयहरूबीच अन्तर आधारभूत तह स्तरीय नृत्य प्रतियोगिता, खुला बेलुन फुटाइ प्रतियोगितालगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो।

अभिभावक, विद्यार्थी तथा छिमेकी विद्यालयका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय सहभागिताबीच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ। सो अवसरमा अक्षयकोष स्थापना गर्ने दाताहरूलाई सम्मानसमेत गरिएको थियो।
अक्षयकोष दाताहरूमा फुलकमल थलङ,डिल्ली खरेल (हाल क्यानडा) र दिलकुमार राई (पूर्व प्रधानाध्यापक)
रहनुभएको छ।

विद्यालय व्यवस्थापन समितिले यस्ता कार्यक्रमहरूले शिक्षा, समाजसेवा र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!