६ माघ, ताप्लेजुङ । ताप्लेजुङको चिसो हावासँगै जाडोले कठोर रूप लिइरहेको यस समयमा फुङ्लिङस्थित श्री बालमन्दिर आधारभूत विद्यालयका नानीहरूका लागि आजको दिन विशेष बनेको छ। कापीकलम समाउने साना हातहरू काँपिरहेका बेला उनीहरूका शरीर मात्र होइन, मनसम्म न्यानोपन पुर्याउने एक मानवीय सहयोग विद्यालय परिसरमा हस्तान्तरण गरिएको छ।
नेपाली काङ्ग्रेस महासमिती सदस्य तथा युवा नेता श्री छोवाङ शेर्पा ज्युको सहयोगमा कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री माननीय खगेनसिं हाङगाम ज्युको सहजीकरणमा जाडो यामलाई लक्षित गर्दै न्यानो ट्र्याकसुट विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिएको हो।
जाडो मौसमका कारण दुर्गम क्षेत्रका बालबालिकाले भोग्नुपर्ने कठिनाइलाई नजिकबाट महसुस गर्दै गरिएको यस सहयोग केवल कपडाको वितरण मात्र नभई, शिक्षा, माया र जिम्मेवारीको सन्देश पनि हो। बिहान चिसोमा विद्यालय आउँदा ओठ निलो हुने, कक्षाकोठामा बसेर पढ्दा शरीर सिरिङ्ग हुने अवस्थालाई कम गर्ने उद्देश्यले गरिएको यस पहलले बालबालिकालाई नियमित पठनपाठनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूले यस सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले समुदायमा आशा र सकारात्मक ऊर्जा फैलाउने बताएका छन्। विद्यार्थीहरूको आँखामा देखिएको खुशी र अनुहारमा झल्किएको मुस्कानले सहयोगको महत्वलाई शब्दभन्दा पनि गहिरो रूपमा व्यक्त गरेको देखिन्थ्यो।
यस कार्यक्रमले राजनीतिक जिम्मेवारीभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकतामा राख्दा समाजमा कति ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। शिक्षामा लगानी भनेकै राष्ट्रको भविष्यमा लगानी हो भन्ने सन्देशसहित गरिएको यो सहयोग स्मरणीय बनेको छ।








