सम्पादकीय। पदभन्दा माथि निष्ठा, चुनावभन्दा ठूलो संघर्ष
२०६४ सालको निर्वाचन नेपाली राजनीतिका लागि मात्रै होइन, लोकतान्त्रिक दलहरूका लागि पनि कठिन परीक्षा थियो।
माओवादीको उभार, भय र मनोवैज्ञानिक दबाबबीच चुनाव लड्नु साहसको कुरा थियो। त्यस्तो अवस्थामा ताप्लेजुङजस्तो भौगोलिक र राजनीतिक रूपमा संवेदनशील जिल्लामा कांग्रेसको झण्डा उठाइराख्नु सामान्य कुरा थिएन। यही कठिन कालखण्डमा केही व्यक्तिहरू पदको लोभभन्दा सिद्धान्तको पक्षमा उभिए। तीमध्ये एक नाम हो—गजेन्द्र तुम्याहाङ।
राजनीति अवसरको खेल मात्रै होइन भन्ने कुरा गजेन्द्रको यात्राले प्रमाणित गर्छ। पार्टीमा निरन्तर कर्म गर्ने उनी कहिल्यै विचलित भएनन्। सत्ता आएन, सुविधा आएन, तर विचार कहिल्यै फेरिएन। डरको वातावरणमा पनि उनले मौनता रोजेनन्, भाग्न खोजेनन्। उनी टिकिरहे—जनतासँग, पार्टीसँग र आफ्ना मूल्यसँग।
२०७० सालको संविधानसभा निर्वाचनमा लिला देवी बोखिमको उम्मेदवारीका बेला ताप्लेजुङका गाउँ–गाउँमा पुगेका कांग्रेस कार्यकर्ताहरूले आज पनि त्यो संघर्ष सम्झन्छन्। ‘कांग्रेस’ लेखिएको पुरानो झोला बोकेर उकाली–ओराली पार गर्दै गरिएको चुनावी यात्रा केवल मत माग्ने अभियान थिएन, त्यो लोकतन्त्र जोगाउने अभियान थियो। मेहेलेमा घटेको अप्रिय घटनाले त्यो समयको भयावहता झन् उजागर गर्छ। तर त्यही क्षणमा गजेन्द्र तुम्याङको संयम र साहसले कार्यकर्ताको मनोबल जोगायो।
कांग्रेस ताप्लेजुङको इतिहास हेर्दा केही व्यक्तित्वहरू केवल संगठनात्मक नेतृत्व मात्र होइनन्, राजनीतिक चेतनाका स्तम्भ हुन्। केशव दाहाल, लिला बोखिम र गजेन्द्र तुम्याङ—यी नामहरू संघर्ष, निरन्तरता र निष्ठाका पर्याय बनेका छन्। उनीहरूले राजनीति कमाइको साधन बनाएनन्, न त सत्ताको सिँढी मात्र। उनीहरूले राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा बुझे।
विशेषगरी गजेन्द्र तुम्याङको राजनीतिक जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ—राजनीति कहाँबाट गर्ने ? काठमाडौंको सुविधा र केन्द्रको पहुँचबाट कि आफ्नै गाउँ–ठाउँमा बसेर जनताको पीडा बुझ्दै ? गजेन्द्रले सधैँ दोस्रो बाटो रोजे। न जागिर, न व्यवसाय—उनको रोजाइ जनताको सेवा रह्यो। उनले आफ्नो जन्मथलो छोडेनन्, चुनावका बेला मात्र जिल्ला सम्झिने संस्कार अपनाएनन्।
आज कांग्रेस ताप्लेजुङबाट गजेन्द्र तुम्याङले उम्मेदवारी पाउँदा यो कुनै आकस्मिक निर्णय होइन। यो दशकौँको त्याग, निरन्तरता र निष्ठाको स्वाभाविक परिणाम हो। यसले पार्टीभित्र सही सन्देश पनि दिएको छ—संघर्ष गर्ने, जनतामाझ रहने र सिद्धान्त नछोड्नेहरू अझै पनि मूल्यांकनमा पर्छन्।
अब निर्णय ताप्लेजुङका जनताका हातमा छ।
चुनाव केवल व्यक्ति छान्ने प्रक्रिया होइन, राजनीतिक संस्कार रोज्ने क्षण हो।
पदका लागि राजनीति गर्ने कि जनताका लागि राजनीति गर्ने—यसको उत्तर यसपटक जनताले दिनेछन्।
अन्ततः, लोकतन्त्रको अन्तिम फैसला सधैँ जनताले नै गर्छन्।
किनकि जनता नै जनार्दन हुन्।







