२ माघ। निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा मान्यता प्रदान गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिक ठहर गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्त जानकी तुलाधारले उक्त निर्णयको पक्षमा मत दिएका छन् भने आयुक्त सगुनशमशेर राणाले फरक मत राखेको आयोगका उच्च स्रोतले जनाएको छ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनको निर्णयअनुसार सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा दलको विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए।
यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले आफूहरू नै आधिकारिक नेतृत्व भएको दाबी गर्दै शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गराएका थिए। दुवै पक्षबाट दाबी परेपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि आयोगमा बोलाएको थियो।
सबै पक्षका दाबी र कागजातको अध्ययनपछि निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिएको हो। यस मान्यतासँगै पार्टीको चुनाव चिह्न ‘रुख’ तथा चारतारे झण्डाको अधिकार पनि थापा पक्षकै रहने भएको छ।







