२ माघ, ताप्लेजुङ । भूकम्प जोखिम न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्दै ताप्लेजुङमा शुक्रबार २८ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, फुङलिङ नगरपालिका तथा सरोकारवाला निकायहरूको सहभागितामा तोक्मेडाँडाबाट सुरु भएको सचेतनामूलक ¥याली वीरेन्द्रचोकमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराज सेढाइँले भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण र पूर्वतयारी नै जोखिम न्यूनीकरणका मुख्य उपाय भएको बताउनुभयो । भूकम्प अघि नै समुदायस्तरमा सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीलगायतले भूकम्प सुरक्षाका विविध पक्षबारे धारणा राखेका थिए ।
भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाल पत्रकार महासंघ ताप्लेजुङले तीनवटै स्थानीय रेडियोको सहकार्यमा प्राविधिक विज्ञसहित भूकम्प जोखिम न्यूनीकरणसम्बन्धी परिसम्बाद कार्यक्रम समेत आयोजना गरेको थियो ।
यस वर्ष भूकम्प सुरक्षा दिवस “सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी” भन्ने नाराका साथ देशभर मनाइँदै छ ।







