ताप्लेजुङ । प्याब्सन ताप्लेजुङद्वारा आयोजित ३५औँ प्याब्सन स्थापना दिवस तथा दोस्रो जिल्ला परिषद् भेला आज पौष २४ गते सफलतापूर्वक सम्पन्न भएको छ। विगतका वर्षहरूमा खुला तथा बृहत् रूपमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष विशेष परिस्थितिका कारण पहिलो पटक प्याब्सन ताप्लेजुङको कार्यालयमै सीमित रूपमा सम्पन्न गरिएको हो।
कार्यक्रम अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि दिनेश भट्टराई रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरू युवराज गिरी, दिनेश प्रसाई र इन्द्रकुमार गुरुङलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा निजी विद्यालय क्षेत्रबाट गत वर्षको SEE परीक्षामा ३.७८ GPA सहित उत्कृष्ट नतिजा हासिल गर्ने कञ्चनजङ्घा बोर्डिङ स्कुलकी छात्रा रमियुका राईलाई पुरस्कृत गरिएको थियो। साथै, लामो समयदेखि ताप्लेजुङ सिद्धार्थ एकेडेमी विद्यालयमा कार्यरत शिक्षिका कविता राईलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद सहित सम्मान गरिएको थियो।
भेलामा प्याब्सनका सांगठनिक तथा शैक्षिक गतिविधिहरू, आगामी कार्ययोजना र अन्य समसामयिक विषयहरूमा छलफल गरिनुका साथै सम्बन्धित प्रतिवेदनहरू प्रस्तुत गरी पारित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आयोजक जिल्ला प्याब्सन ताप्लेजुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, सहयोगी तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्दै प्याब्सन स्थापना दिवसको हार्दिक शुभकामना प्रकट गरेको अध्यक्ष गुरुङको भनाइ रहेको छ।







