२२ पुस, ताप्लेजुङ। कसैका लागि जन्मदिन केक र शुभकामनाको दिन हुन्छ, तर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनिमका मणिकुमार अन्छङ्वोका लागि जन्मदिन बालबालिकाको सपनामा उज्यालो थप्ने अवसर बन्यो।
आफ्नो जन्मदिनको अवसर पारेर अन्छङ्वोले शिवु आधारभूत विद्यालय, खेजेनिमका सम्पूर्ण विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गर्दै विद्यालय परिसरमै जन्मदिन मनाए। पढाइका साधन पाएपछि विद्यार्थीहरूको अनुहारमा देखिएको खुशी नै उनको जन्मदिनको सबैभन्दा ठूलो उपहार बनेको थियो।
स्थानीय दीपेन्द्र विश्वकर्माका अनुसार अन्छङ्वोले व्यक्तिगत उत्सवभन्दा पनि बालबालिकाको भविष्यलाई प्राथमिकता दिँदै विद्यालय रोजे। बालमनको उत्साह, शिक्षक र अभिभावकको आत्मीय उपस्थितिले त्यो दिन विद्यालयलाई विशेष बनाएको थियो।
सानो सहयोगले पनि ठूलो सपना जन्माउन सक्छ भन्ने सन्देश दिँदै अन्छङ्वोले मनाएको यो जन्मदिन स्थानीय समुदायका लागि प्रेरणाको उदाहरण बनेको छ।







