ताप्लेजुङ । पाँच दशकभन्दा बढी समयदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक पुसे मेलाका अवसरमा ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ३ र ४ गते गाउँपालिकाभित्र आकस्मिक सेवा बाहेक सबै सरकारी कार्यालय, सामुदायिक विद्यालय तथा संघ–संस्थाहरू बन्द रहने भएका छन्।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार मेलाको व्यवस्थापन तथा जनसहभागितालाई सहज बनाउने उद्देश्यले स्थानीय बिदा दिने निर्णय गरिएको हो।
पुस १ देखि ५ गतेसम्म मेरिङदेन गाउँपालिका–३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेको संगमस्थल दोभान बजारमा आयोजना हुने पुसे मेलामा यस वर्ष विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्। मेलाको अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा मौलिक सांस्कृतिक उत्सव आयोजना हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिनुभयो।
यस वर्ष पुसे मेला ५२ औं संस्करणका रूपमा आयोजना हुन लागेको हो। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलाले स्थानीय कला, संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।








