ताप्लेजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–१ का प्रदिप लुङ्वा भनिने शंकर लिम्बु रहेका छन्। उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए।
फरार लिम्बुको खोजतलासका क्रममा शुक्रबार फुङलिङस्थित बिरेन्द्र चोकमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिनुभयो।
प्रहरीका अनुसार लिम्बु कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला कारागार ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ।







