ताप्लेजुङ। नेपाली कांग्रेस ताप्लेजुङले आगामी संघीय र राष्ट्रियसभा निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा विभिन्न क्लस्टरअनुसार नाम सिफारिस गर्दै सूची सार्वजनिक गरेको छ।
प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरिएको जिल्ला पार्टी सचिव युकहाङवीर (डम्बर) हाङगामले जानकारी दिए। आकांक्षीहरूको परामर्शपछि सहमतिमै तुम्याहाङको नाम टुंगो लगाइएको हो। ताप्लेजुङमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ।
समानुपातिकतर्फ खुला कोटामा पूर्व मन्त्री प्रतापप्रकाश हाङगाम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल, महिलातर्फ कल्पनादेवी सिटौलाका नाम केन्द्रमा सिफारिस गरिएका छन्।
राष्ट्रिय सभातर्फ विभिन्न क्लस्टरमा १० जनाको नाम सिफारिस गरिएको सचिव हाङगामले बताए।
खुला तर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङका नाम सिफारिस गरिएको छ।
अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम प्रस्ताव गरिएको छ।
त्यसैगरी महिला क्लस्टरमा लिलादेवी बोखिम, मात्रिकादेवी प्रसाई कार्की, गीता चौहान र प्रमिला गुरुङका नाम सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ।







