ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको छ। मंसिर ७ गतेदेखि सुरु भएको अभियान विभिन्न जनचेतनामूलक कार्यक्रमसँगै समापन गरिएको हो।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले अभियानले दिएको उपलब्धि, देखिएका चुनौती र सुधार आवश्यक स्थानहरू पहिचान गर्दै निरोधात्मक तथा उपचात्मक उपायहरू दीर्घकालीन समाधानका लागि महत्वपूर्ण रहेको बताए।
फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले पीडितलाई न्याय र पिडकलाई कानूनी सजाय दिलाउन न्यायिक समिति सक्रिय रहँदै आएको उल्लेख गर्दै लैंगिक हिँसा अन्त्यका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताइन्।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले चालु आर्थिक वर्षमा न्यायिक समितिमा ४६ वटा मुद्दा परेकोमा ४० वटा फस्र्यौट भइसकेको तथा ६ वटा प्रक्रियामा रहेको तथ्याङ्क सार्वजनिक गरे। उनका अनुसार, घरेलु हिंसा सबैभन्दा धेरै दर्ता हुने मुद्दा हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले सबै प्रहरी युनिट लैंगिक हिंसा अन्त्यका लागि सक्रिय रहेको उल्लेख गर्दै पछिल्लो समय अनलाइन ठगी, साइबर अपराध र विभिन्न बहानामा हुने लैंगिक दुरुपयोग बढेकाले सचेत रहन आग्रह गरे।
सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले प्रविधिको द्रुत प्रयोगसँगै साईबर बुलिङ, साईबर अपराध र अनलाइन मार्फत हुने लैंगिक हिँसा बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै सुरक्षित डिजिटल प्रयोगमा जोड दिए।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने “लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान” नेपालमा यस वर्ष “प्रविधिको सही प्रयोग गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मनाइएको छ।







