ताप्लेजुङ — जिल्लामा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घनका ५३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ। मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशनअघि बुधबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले उक्त तथ्य प्रस्तुत गरेको हो।
इन्सेक ताप्लेजुङकी जिल्ला प्रतिनिधि एलिना दियालीका अनुसार २०८१ साल पुस १६ देखि २०८२ मंसिर २४ गतेसम्म अभिलेखीकृत घटनामध्ये २९ घटनामा महिला पीडित रहेका छन्। त्यसबाहेक १४ पुरुष र ७ बालिका समेत विभिन्न घटनामा पीडित भएका छन्। जिल्लामा महिला तथा बालबालिकाहरू छिमेकी, आफन्त तथा चिनजानकै व्यक्तिबाट यौन दुव्र्यवहार र बलात्कारका जोखिममा परिरहेको इन्सेकले जनाएको छ।
मानव अधिकार उल्लङ्घनका घटनामा १३ वर्षीया बालिकादेखि ७२ वर्षीय ज्येष्ठ नागरिकसम्म पीडित रहेको प्रतिवेदनमा उल्लेख छ। दीर्घकालीन पुनर्स्थापना केन्द्र नहुँदा हिंसामा परेका महिला तथा बालबालिकालाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै इन्सेकले सरोकार निकायको ध्यानाकर्षण गराएको छ।
विद्युतीय तारबारको कमजोर व्यवस्थापनका कारण तार झरी मानिसको ज्यान जाने घटनाप्रति पनि इन्सेकले विद्युत् प्राधिकरणलाई सचेत गराएको छ। भारतको उत्तराखण्ड, रुद्रपुरमा मानव तस्करीकै शैली देखिने गरी नेपालीहरू अलपत्र परेको घटनामा प्रहरीले गरेको उद्धार कार्यको इन्सेकले स्वागत गरेको छ। साथै, नेपाल–चीन सीमा नाका टिपताला भञ्ज्याङ सञ्चालनमा सरकार आवश्यक पहल गर्नुपर्नेमा पनि इन्सेकले जोड दिएको छ।
सन् २०२५ डिसेम्बर १ देखि डिसेम्बर ९ सम्मका मानव अधिकारसम्बन्धी घटनाहरू अभिलेखीकृत गरी राय सुझावसहित प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि ताप्लेजुङबाट संयोजन गरी सुझाव सङ्कलन गरिएको जिल्ला प्रतिनिधि दियालीले बताउनुभयो।







