ताप्लेजुङ — टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले हात पारेको छ।

शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाईबेक्ररबाट गरिएको थियो। जितसँगै फुङलिङले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

टाईबेक्ररमा फुङलिङका नेहा चौधरी, सम्झना लावती, सुशीला चौधरी र कुमारी गुरुङले सफल प्रहार गरे भने समीक्षा मगरको प्रहारलाई मेरिङदेनकी गोलरक्षक जीना तामाङले रोकिदिइन्।
मेरिङदेनतर्फबाट सिम्रन राई, जीना तामाङ र अनुष्का शेर्पाले सफल प्रहार गर्दा मनिता तामाङ र सुष्मा लिम्बूका प्रहार बाहिरिए।

खेलको सुरुवातमै फुङलिङले अग्रता बनाएको थियो। नेपाल पुलिस क्लबको महिला फुटबल टोलीकी पूर्व कप्तान कुमारी गुरुङले सम्झना लावतीको पासमा पहिलो गोल गर्दै टिमलाई अगाडि बढाइन्।
तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा मेरिङदेनकी सुष्मा लिम्बूले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ मेरिङदेनकी जीना तामाङ घोषित भइन्। उनले नगद ५ हजार हात पारिन्।
उपविजेता मेरिङदेनले १ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो।

समापन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, फुङलिङ नगरप्रमुख अमिर मादेन, फुङ्लिङ -८ का वाड अध्यक्ष क्षितिज सुनुवार, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझालगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!