ताप्लेजुङ, मंसिर १९। ताप्लेजुङको मेरिङदेन–५ थुकिमामा सम्पन्न दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङले जितेको छ। बिहीबार भएको फाइनल खेलमा हाङपाङले मेरिङदेन–३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो।
फाइनलअघि भएको सेमिफाइनलमा हाङपाङले मेरिङदेन–६ नाल्बूलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। दोस्रो सेमिफाइनलमा खाम्लुङले फुङलिङ–१० फुरुम्बूलाई १–० ले पराजित गरेको थियो।
उपाधिसँगै हाङपाङले नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खाम्लुङले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो। अध्यक्ष लङ्वाले यस प्रतियोगिताले साङधुङगे–मेरिङदेन क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारमा सहयोग पुर्याउने बताएका छन्।
मंसिर १३ गतेदेखि सुरु भएको प्रतियोगिताको समापन कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।







