ताप्लेजुङ, मंसिर १९ गते ।
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिका आमने–सामने हुने भएका छन्। शनिबार हुने फाइनल खेल यस प्रतियोगिताको निर्णायक भिडन्त हुनेछ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मेरिङदेनले पाथीभरा याङवरक गाउँपालिकामाथि प्रभावशाली प्रदर्शन गर्दै ५–० को फराकिलो जीत हात पार्यो। खेलको २५औँ मिनेटमा अनुष्का शेर्पाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन्। एक मिनेटमै सुस्मा लिम्बूले गोल थपेपछि मेरिङदेनले खेलमा बलियो पकड बनायो।
दोश्रो हाफमा पनि मेरिङदेन आक्रमक नै रह्यो। ५७औँ मिनेटमा मनिता तामाङले गोल गरिन् भने ६४औँ मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो गोल गरिन्। खेलको इन्जुरी समयमा अनुष्काले ह्याट्रिक पूरा गर्दै टिमलाई ५–० को शानदार जित दिलाइन्।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा फुङलिङ नगरपालिकाले मैवाखोला गाउँपालिकालाई २–० ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको थियो।
प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।







