१९ मङ्सिर,ताप्लेजुङ — कन्चन नवज्योति स्कुलको आयोजनामा जारी माध्यमिक स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताका फाइनल खेलहरू भोलि सम्पन्न हुने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ताप्लेजुङको वार्षिक कार्ययोजना–२०८२ अनुसार सञ्चालन भइरहेको प्रतियोगिता भोलि समापन हुँदैछ।
प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङका अनुसार छात्रा तर्फको फाइनल खेल भोलि बिहान १० बजे हुने छ। उक्त खेलमा हाङ्देवा पाथिभरा न्यू–लर्निङ स्कुल र कन्चन एकेडेमीबीच उपाधि भिडन्त हुने छ।
यस्तै, छात्र तर्फको फाइनल प्रतिस्पर्धामा लिटल बुद्ध बोर्डिङ स्कुल र कन्चन एकेडेमी आमनेसामने हुने भएका छन्।
प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थी बीच मैत्रीपूर्ण प्रतिस्पर्धा तथा प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक पक्षले जनाएको छ। भोलि दुवै समूहका विजेता तथा उप–विजेतालाई पुरस्कार वितरण गरिँदै प्रतियोगिताको औपचारिक समापन गरिने छ।







