ताप्लेजुङ । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
स्थानीय भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा फुङलिङले मैवाखोला गाउँपालिकालाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
फुङलिङका लागि दुवै गोल समिक्षा मगरले गरिन्। मनिता तुम्रोकको स्थानमा मैदान प्रवेश गरेकी समिक्षाले खेलको ५२औँ र ८३औँ मिनेटमा गोल गर्दै टिमलाई फाइनलमा पुर्याइन्। उनले ‘प्लेयर अफ द म्याच’ उपाधिसहित नगद ५ हजार र ट्रफी प्राप्त गरिन्।
भोलि हुने दोस्रो सेमिफाइनलमा पाथीभरा याङवरक गाउँपालिका र मेरिङदेन गाउँपालिका आमनेसामने हुनेछन्।
चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठवटा पालिकाको सहभागिता रहेको छ। मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी प्राप्त गर्नेछ।
उपविजेताले नगद १ लाख २ हजार ८२ पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद ५ हजार प्रदान गर्ने व्यवस्था छ भने विधागत पुरस्कारतर्फ ८ हजार र उत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिए।







