काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ। मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो।
उक्त कार्यतालिका सार्वजनिक भइसकेको उल्लेख गर्दै महामन्त्री थापाले आफू सभापति पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन्। हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रमका लागि पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै थापाले भने,
“म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। मलाई विश्वास छ— नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पार्टी नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी मेरो हातमा दिनेछन्।”
थापाको उम्मेदवारी घोषणा संगै कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।







