ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिका आमनेसामने हुने भएका छन्। लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा)–२०८२ को अवसरमा आयोजित प्रतियोगितामा दुवै टिम उपाधि यात्रालाई अघि बढाउन प्रतिस्पर्धामा उत्रनेछन्।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फुङलिङ नगरपालिकाले फक्ताङलुङ गाउँपालिकामाथि ३–० गोल अन्तरको जित निकाल्दै अंतिम चारमा स्थान सुरक्षित गरेको हो। यस्तै, शनिबार भएको उद्घाटन खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० ले पराजित गर्दै मैवाखोलाले सेमिफाइनलमा पहुँच बनाएको थियो।

त्यसैगरी, मङ्गलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मेरिङदेन गाउँपालिकाले सिदिङ्वा गाउँपालिकामाथि २–१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको ७औँ र ३८औँ मिनेटमा मेरिङदेनकी अनुष्का शेर्पाले दुई गोल गरिन्। सिदिङ्वाका तर्फबाट ७०औँ मिनेटमा ईमा राईले एक मात्र गोल फर्काइन्।

यससँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकासँग भेट पक्का गरेको छ। आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आठराई–त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै याङ्वरकले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोगिताका विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपैयाँ, उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कञ्चनजङ्घा फुङलिङ क्लबका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो। साथै, म्यान अफ द म्याच खेलाडीलाई पाँच हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही आठ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल मंसिर २० गते हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!