ताप्लेजुङ, मंसिर १६ गते — ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा मेरिङदेन गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको ७औँ मिनेटमा अनुष्का शेर्पाले पहिलो गोल गरेकी थिइन् भने ३८औँ मिनेटमा उनले दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाइन्। ७०औँ मिनेटमा सिदिङ्वाकी हिमा राईले गोल फर्काए पनि मेरिङदेनको जित कायम रह्यो।
यस जितसँगै मेरिङदेनले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार पाथीभरा याङ्वरकले आठराई–त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सोमबार फुङलिङ नगरपालिकाले फक्ताङलुङ गाउँपालिकालाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। फुङलिङ अब मैवाखोला गाउँपालिकासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। ‘म्यान अफ द म्याच’ खेलाडीलाई पाँच हजार, विधागत उत्कृष्ट खेलाडीलाई आठ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको फाइनल मंसिर २० गते हुने आयोजकहरूले जनाएका छन्।







