ताप्लेजुङ — नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख रहेका छिरिङ लामा नेकपा एमालेमा फर्कने भएका छन्। कुनै बाधा नपरे मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालयमा उनी प्रवेश गर्ने कार्यक्रम तय भएको छ। उनलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो लगायतका नेताहरूले पार्टीमा स्वागत गर्ने तयारी गरिएको छ।
लामासँगै प्रवेश गर्ने अन्य व्यक्तिहरूको नाम भने औपचारिक सूचीमा उल्लेख गरिएको छैन। नेकपा एस, नेकपा माओवादी केन्द्र र अन्य वाम दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि लामाले पुनः एमाले रोज्ने निर्णय गरेका हुन्।
‘को–को जानुहुन्छ?’ भन्ने प्रश्नमा लामा भन्छन्, “म हल्लाखल्लामा विश्वास गर्दिनँ। साथीहरूसँग एक चरण कुराकानी भयो। सबैको आ–आफ्नै इच्छा हो। मैले आफ्नो निर्णय गरें।”
यसअघि नै नेकपा एसका जिल्ला अध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ, केन्द्रीय सदस्य खेम वनेम, निता सिवा लगायतका नेता एकता प्रक्रियामा सहभागी भइसकेका छन्। उनीहरू विराटनगरमा सम्पन्न एकता सभामा पनि उपस्थित रहेका थिए।







