
ताप्लेजुङ । सगरमाथाको शिखरमा पहिलोपटक सन १९९० मा बिबाहित जोडी बनेर आरोहण गर्न सफल भई गिनिज बुकमा नाम लेखाएका स्लोभेनियाली आरोही आन्द्रे र मारिया स्ट्राम्फेलले ताप्लेजुङको महेन्द्र आधारभुत विद्यालय, फु.न.पा. १ लाई बालकक्षा स्तरोन्नतीका लागि नगद ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। साथै, भविष्यमा पनि सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन !
नेपाल दर्जनौँ पटक भ्रमण गरी विभिन्न हिमाल आरोहण गर्दै आएका स्ट्राम्फेल दम्पती विशेषगरी ताप्लेजुङ र कञ्चनजंघा क्षेत्रलाई अत्यन्तै मन पराउने आरोहीका रूपमा परिचित छन्। हालै उनीहरूले नेपालका पूर्वी ताप्लेजुङदेखि पश्चिम हुम्लाको हिल्सासम्मको ग्रेट हिमालयन ट्रेल यात्राको अनुभव समेटिएको पुस्तक “Moc Noci je v svetlobi zvezd” प्रकाशित गरेका छन्। उक्त पुस्तक बिक्रीबाट संकलित रकममध्ये केही भाग विद्यालयलाई सहयोग गरिएको हो।
आर्थिक सहयोग जुटाउन सहज बनाउने ताप्लेजुङका पर्यटन व्यवसायी तथा समाजसेवी मणि खतिवडा, स्लोभेनियास्थित नेपाली मानार्थ महावाणिज्यदूत आस्विन कुमार श्रेष्ठ र स्लोभेनियाको जिम्नाजिया क्रान (क्रान हाई-स्कुल) ले विशेष भूमिका खेलेका छन्।
यसअघि पनि समाजसेवी मणि खतिवडाले नांगखोल्याङस्थित सुन्दरमाला प्रा.बी. विद्यालय भवन निर्माण, बरडाँडा विद्यालयको भवन तथा कक्षाकोठा स्तरोन्नतीलगायतका विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।