
१७ माघ, ताप्लेजुङ । यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ ।
नेपाल सरकारलाई २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा बैंकबाट ऋण लिएर खरिद भएका सवारीसाधन चल्ने वातावरण नहुँदा मासिक किस्ता बुझाउन समेत समस्या हुने व्यवसायीको भनाइ छ ।
यसले यातायात मजदुर र आश्रित परिवारमा समेत असर पर्ने व्यवसायीको भनाइ छ । महासंघले वार्ता र संवादका माध्यमबाट समस्या समाधान खोज्न राज्य र बन्दकर्तालाई अनुरोध समेत गरेका छन् ।
पाथीभरामा केबुलकार बनाउने विषयकाे विवादले स्थानीय र सुरक्षाकर्मीबीच पटकपटक विवाद र झडप हुँदै आएको छ । विज्ञप्तिमा महासंघका झापा, इलाम, पाँचथर र ताप्लेजुङ संयोजकले हस्ताक्षर गरेका छन् ।