
सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि चितवनमा दिपावली गरिएको छ । एमाले पार्टी कार्यालय कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा दिपावली गरिएको हो ।
दिपावलीमा नेकपाका नेताहरु हरी सापकोटा,जेएन थपलिया,विजय सुवेदी, प्रकाश खनाल शैलेस लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा उनिहरुले केपी ओलीको समर्थनमा नाराबाजी समेत गरेका थिए ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम आज नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।
निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।