
ताप्लेजुङ —पुनः गणेश सिग्देलको नेतृत्वमा कार्यसमिति चयन गर्दै निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङको नवौं जिल्ला अधिवेशन सकिएको छ ।
अधिवेशनबाट समिति उपाध्यक्षमा देवराज गुरुङ, सचिव तरुण भारती, कोषाध्यक्षमा चन्द्रबहादुर मादेन चयन भएका छन् ।
हरिप्रसाद पौडेल, सरोज थापा, अनुपमा प्रधान, इन्द्र कुमार सुनुवार सदस्य र खेमराज बराल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएकोछ।
३४ औँ प्याप्सन दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीसमेतलाई सम्मान गरिएको थियो। शिक्षक सम्मानतर्फ विगत लामो समयदेखि काम गर्दै आएका हाङदेवा पाथिभरा क्यु लर्निङ स्कुलका शिक्षक प्रकाश कार्कीलाई सम्मान गरेको छ। कार्कीलाई नगद १० हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको अध्यक्ष गणेश सिग्देल जानकारी दिनुभएको छ। कार्की विगत २०६५ साल यता निजी विद्यालयमा कार्यरत रहेका छन् । यता विद्यार्थीतर्फ २०८० सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल लिटलबुद्ध बोर्डिङ स्कुलका छात्रा सिक्कुम इवारम लिम्बुलाई सम्मान गरिएको हो। सिकुमले गतवर्ष २०८० को एसइइ परीक्षामा ३ दशमलव ९१ जीपीए ल्याएर जिल्ला प्रथम बनेकी थिइन्। लिम्बुलाइ नगद ६ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले उद्घाटन गरेको अधिवेशन तथा प्याब्सन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, वाड अध्यक्षहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालय र शिक्षकहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । जिल्लामा २६ वटा निजी विद्यालय रहेका छन् ।