ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । भाद्र १० गतेसम्म जारी रहने प्रतियोगिताको उद्धघाटन आज हुँदैछ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टीमले सहभागीत जनाउँदैछन् । सहभागी टीमहरु ४ ओटा प्रदेशका ७ र बाँकी एउटा भारतको क्लब रहेका छन् ।
आज हुने उद्धघाटन खेलमा जिल्लाको प्रतिनिधित्व गर्दै संघर्ष स्पोर्टिङ युबा क्लब ताप्लेजुङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतले प्रतिष्पर्धा गर्दै छन् । उद्धघाटन खेलमा संघर्षले अन्तर्राष्ट्रिय टीमसँग प्रतिष्पर्धा गर्नुपर्दा अत्यन्तै चुनौतीको सामना गर्नुपर्ने जिल्लाबासीले अनुमान गरेका छन् । तर ताप्लेजुङतर्फका क्लबमा समेत अब्बल र अनुभबी खेलाडीहरु भएकाले प्रतिष्पर्धात्मक ढंगले मात्रै हारजित हुने सम्भावना रहेको संघर्ष स्पोर्टिङले बताएको छ । भारततर्फका टीममा समेत बिगत लामो समयअगाडिदेखि खेलमै व्यस्त रहेका खेलाडीहरु भएकाले आजको खेलबाट बिजयी सुरुवात गर्दै सेमिफाईनल प्रवेश गर्ने योजनाका साथ मैदान उत्रने तयारीमा रहेको छ । आजको खेलमा बिजेता बन्ने टीमले भाद्र ५ गते हुने रुपन्देही र मोरङबीचको बिजेतासँगको भेट पक्का गर्नेछ ।
यस्तै भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुनेछ । प्रतियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनहुन आयोजकले आग्रह गरेको छ ।







