ताप्लेजुङ । विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले बिहीबार यो समाचार तयार पार्दा सम्म ६६ जनाको मोतियाबिन्दुका बिरामीहरुको शल्यृकया गरेको छ । आजै थप ४० जनाको शल्यकृया गर्ने तयारी रहेकाे चिकित्सक टोलीले जानकारी दिएको छ।
फागुन १६ र १७ गते फुङलिङमा तथा फागुन १३ गते मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा छनौट भएका मोतियाबिन्दुका बिरामीको शल्यकृया गर्न थालिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । संघका जिल्ला उपसभापति खगेन्द्र अधिकारीका अनुसार फुङलिङमा हिजो ९८ जना छनौट भएका थिए भने ढुङ्गेसाँघु र खोक्लिङमा ३७ जना मोतियाबिन्दुका बिरामी छनाौट भएका थिए । आजपनि मोतियाबिन्दुका बिरामी छनौट भएका छन्। त्यो संख्याको प्रविष्टी भइरहेको छ। उपचार तथा परीक्षण कार्य जारी रहेकोले छनौट हुनेको संख्या बढ्ने देखिएको छ । छनौट भएका मोतियाबिन्दुका सबै बिरामीको शल्यकृया हुने अधिकारीले जानकारी दिए । शल्यकृया भोली समेत हुुने छ । शल्यकृयाका लागि छनौट भएका र उपचारका लागि आएका सबै सेवाग्राहीलाई सेवा दिएर पठाउने गरी व्यवस्थापन गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहयोगमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार हिजो छ सय ८३ र आज ४ सय ३४ गरी कूल १ हजार १ सय १७ जनाले आँखाको परीक्षण गराएका छन् । शिविर समापन संगै डाक्टर रुईतलाई फुङलिङ नगरपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङ सहितका निकायहरुबाट नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।







