ताप्लेजुङ । ताप्लेजुङमा एक वर्षको अन्तरालमा मानवअधिकार उल्लंघनका ४८ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार सन् २०२३ भित्र अत्याधिक सङ्ख्यामा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।
सोमबार पत्रकार महासङ्घको सभाहलमा आयोजित कार्यक्रममा मानवअधिकार वर्षपुस्तक सन २०२४ वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै मानवअधिकार उल्लंघनसम्बन्धी प्रतिवेदन दियालीले प्रस्तुत गर्नुभएको हो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी घरेलु हिंसासम्बन्धीका १८ वटा रहेका छन् । त्यसपछि करणी तथा यौनजन्य घटना १२ वटा भएको छ।
मानवअधिकार उल्लंघनका अन्य घटनामा मानव हत्या, अभद्र व्यवहार, कुटपिट, गालीगलौज, बहुविवाह, भौतिक संरचना क्षतिजस्ता रहेका छन् । घटनाबाट महिला, पुरुष र बालबालिका गरी ४९ जना पीडित भएका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले प्रतिवेदनमाथि टीका–टिप्पणी गर्दै आ–आफ्नो धारण राख्नुभएको थियो ।
इन्सेक प्रतिनिधि एलिनाले आवस्यकता अनुसार र सुझावलाई आत्मसात गरि आगामी दिनमा अझ ससक्त लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।







