ताप्लेजुङ – पारिवारिक बिग्रहको रुपमा लिईने सम्वन्ध बिच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ ।
चालू आर्थिक बर्ष २०८०।८१ को पहिलो चौमासिक अवधि साउन–मंसिरमा अदालतमा दर्ता भएका मुद्दामध्ये ५४ प्रतिशत सम्वन्ध बिच्छेदका रहेका छन् । ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार मनोज बरालका अनुसार चालू आवको पहिलो चौमासिक अवधिमा अदालतमा १ सय ३८ थान नयाँ मुद्दा दर्ता भएका छन् । तिमध्ये ७५ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेको अदालतले जनाएको छ ।
अघिल्लो आवबाट चालू आवमा जिम्मेवारी सरी आएका १ सय ४० थान मुद्दामध्ये ४१ थान सम्वन्ध बिच्छेदका छन् । आव २०७९।८० को एकबर्षे अवधिमा अदालतमा दर्ता भएका मुद्दामध्ये ४४ प्रतिशत हाराहारी सम्वन्ध बिच्छेदका थिए । चालू आवको मंसिर मसान्त सम्मको मुद्दाको अवस्था हेर्दा यहीँ प्रकृतिका मुद्दाले निरन्तरता पाए सम्वन्ध बिच्छेदका मुद्दाले अघिल्लो आवको रेकर्ड ‘बेक्र’ गर्ने देखिएको छ ।
सम्वन्ध बिच्छेद श्रीमान–श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोड पत्र भनिन्थ्यो । अहिले परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । अंग्रेजीमा ‘डिभोर्स’ भनिने यी शब्द अहिले नेपालीमा पनि बढी प्रचलनमा रहेको पाईन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्वन्ध बिच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ ।
कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समय देखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुष सँग यौन सम्बन्ध राखेको ठहरेमा सम्वन्ध बिच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।
३५ प्रशित मुद्दा फस्र्यौट
ताप्लेजुङ जिल्ला अदालतले पहिलो चौमासिक अवधिमा ३५ प्रतिशत हाराहारी मुद्दाको फस्र्यौट गरेको जनाएको छ । नयाँ लगत दर्ता भएका १ सय ३८ र जिम्मेवारी सरी आएका १ सय ४० गरी कूल २ सय ७८ थान मुद्दामध्ये यो अवधिमा ९६ जना मुद्दा फस्र्यौट भएको अदालतले जानकारी दिएको छ ।- eujyalopost







