पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइवाइ अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृती फुटबल क्लब सेमी फाइनल पुगेको छ ।
फिदिम माविको मैदानमा मंगलबार भएको क्वाटर फाईनलको अन्तिम खेलमा काठमाण्डौको हिमालयन शेर्पा फुटबल क्लबलाई ४–३ गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको स्थान पक्का गरेको हो ।
ताप्लेजुङको संघर्षपूर्ण जितमा प्रबिण जवेगु एक्लैले दुई गोल गरे । मञ्जित याङ्देन र दीपेश लिम्बूले एक÷एक गोल गरेका थिए ।
हिमालयन शेर्पाका लागि ओस्कर र बसन्त ओझाले एक÷एक गोल गरे । उसलाई ताप्लेजुङका आशिस लिम्बूले एक गोल उपहार दिए ।
खेलको तीन मिनेटमा ताप्लेजुङका मञ्जितले सुरुवाती गोल गरेका थिए । २१ औं मिनेटमा शेर्पाका ओस्करले आकर्षक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेलको ४० औं मिनेटमा ताप्लेजुङका प्रबिन जबेगुले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा शेर्पाका बसन्त ओझाले गोल फर्काएर बराबरीमा ल्याएका थिए ।
खेलको ६२ औं मिनेटमा ताप्लेजुङका दीपेश लिम्बूले गोल गरेर टिमलाई अग्रता दिलाए । तर, ताप्लेजुङको यो अग्रता धेरै समय टिक्न सकेन ।
खेलको ६९ औं मिनेटमा शेर्पालाई ताप्लेजुङले एक गोल उपहार दियो । ताप्लेजुङका आशिस लिम्बूले उपहार गोल गर्दा खेल बराबरीमा पुगेको थियो ।
दोस्रो हाफमा निकै आक्रमक बनेको खेलमा ताप्लेजुङका प्रबिण जबेगुले निर्णयक गोल गरे । खेलको ७७ औं मिनेटमा प्रबिणले गोल गरेर ताप्लेजुङलाई अन्तिम चारको स्थान दिलाए ।
मंगलबारको खेलमा ताप्लेजुङका गोल किपर आकाश लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि खेलकुद बिकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरे ।
मंगलबारको खेलसँगै किराँत गोल्डकपमा सेमी फाइनको समिकरण पूरा भएको छ । बुधबार हुने सेमी फाइनलको खेलमा मोरङको डाँगीहाट फुटबल क्लबले आयोजक पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहिबार हुने सेमी फाइनलको अन्तिम खेलमा ताप्लेजुङले झपाको बिर्तामोड युनाईटेड क्लबसँग भिड्नेछ ।
प्रतियोगिताको फाइनल खेल शनिबार फिदिम माविको मैदानमा सञ्चालना हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यो जिल्लाकै सार्बाधिक पुरस्कार राशिको गोल्डकप हो । (जाेरपाटी डटकमकाे सहयाेगमा)







