ताप्लेजुङ ।दुर्घटना न्यूनीकरण गर्न ताप्लेजुङ जिल्लामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा बुधबार एक दिने ट्राफिक चेतना प्रवर्द्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो ।
सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुले बताउनुभयो । विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नुपर्नेमा उहाँको जोड थियो ।
सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यलयका प्रमुख दिपक न्यौपाने लगायतका ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक प्रस्तुति राखेका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने कार्यालय प्रमुख न्यौपानेको धारणा थियो ।
जिल्लामा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने सहभागीहरुले बताए। यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्नेमा उनिहरुको माग छ ।
यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।








