
फागुन १८, ताप्लेजुङ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गम क्षेत्र दोभान बजारमा बिहान ९ बजेदेखि आगलागी सुरु भएको छ ।
बिच बजार भोलानाथ पौडेलको घरबाट सुरु भएको आगलागीले अहिलेसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ३० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ र नियन्त्रणको कुनै सम्भावना नरहेको स्थानीय दीपेश कार्कीले जानकारी दिए ।
आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ ।
दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठुलो र व्यस्त बजार मानिन्छ । सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन् ।
स्थानीय व्यवसायी भोला पौडेलको घर नजिकबाट आगो सुरु भएको स्थानीयले जनाएका छन् । दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको बताइएको छ ।