-तरुण भारती
८ कार्तिक, ताप्लेजुङ । दशैँको समयमा ताप्लेजुङमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् । झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्रोल छैन भन्छन् बाहिर गयो कतै पाइँदैन अब कसरी जाने हो, दोधारमा परियो ।” उहाँ मात्रै नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् ।

यस्तै सदरमुकाम फुङ्लिङ बजारबाट पाँचथरको नाङ्गिन ससुराली हिँडेका रमेश खतिवडा भन्नुहुन्छ, “सबै पम्पतिर जाँदा पाइएन् तर बाहिर प्रतिलिटर रु २५० का दरले पेट्रोल पाइयो, नभएपछि त्यहीँ भए पनि हालेर जान बाध्य भएँ ।”

कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ ।

जिल्लामा रहेका दुवै वटा पम्पमा पेट्रोल चारदिन अघिनै सकिएको सदरमुकाम फुङ्लिङमा तेल वितरण गर्दै आउनुभएका आशिका आयल सप्लायर्सका विक्रेता तारा बरालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस पटक पाथीभरामा दर्शननार्थीको उच्च आगमन भएकाले पनि दशैँमा अभाव भएको हो भने अर्कातिर पेट्रोल भन्दा डिजेल बढि माग हुने हुँदा डिजेल नै बढी बेच्दै आएको छौ ।”
हरेक १ डिग्री सेल्सियस तापक्रम घट्दा १ हजार लिटर पेट्रोल बराबर ६५० मिलिलिटर पेट्रोल उड्ने भएकाले पनि पेट्रोल स्टक गर्न नसकिने बरालको भनाइ रहेको छ।

ताप्लेजुङमा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन् । जिल्लामा प्रतिदिन तिनदेखि पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!