मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश सेढाईंकाे निधन भएको छ । उनको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकाेप्टर असोज २७ गते बिहान दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएकाे थियाे। हेलिकाेप्टरमा पाइलट सेढाईं एक्लै थिए।
दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेकाे थियाे ।
श्री एयरलाइन्सको चार्टर्ड उडानबाट उनलाई थप उपचारका लागि भारत लगिएको थियो । पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । साथै, उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको थियो ।
तीन महिनाको बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । तीन महिनायता मनाङ एयरका दुवै हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएका हुन् । नयाँ पत्रीका








