२२ भाद्र, ताप्लेजुङ । प्रस्तावित निजामति सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामति कर्मचारीको परिभाषामा नसमेटिएको भन्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाका कर्मचारीले हातमा कालो पट्टी बाधेर बिरोध जनाएका छन् ।
२० औं निजामती दिवस कै दिन उनीहरुले बिरोध जनाएका हुन् ।
प्रस्तावित निजामति सेवा ऐनको मस्यौदामा प्रशासनिक प्रणालीमा बिभेद ल्याउने गरी संघीय निजामति सेवा,प्रदेश निजामति सेवा र स्थानीय सेवा भन्ने बिभेदकारी नीति उल्लेख रहेको भन्दै फुनपाका कर्मचारीले बिरोध जनाएका हुन् ।
उनीहरुले संघीय निजामति सेवा ऐन नभई एकिकृत निजामति सेवा ऐन ल्याउनुपर्ने,सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने,सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीका आधारमा गरिनुपर्ने माग गरेका छन् ।
अन्तरप्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनुपर्ने,निजामति अस्पतालमा सबै सरकारी कर्मचारीलाई समेट्नुपर्ने,संघ,प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुबिधा र बृत्ति विकासमा बिभेद नभई समान हुनुपर्ने,प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूत हुनुपर्ने कर्मचारीहरुको माग रहेको छ ।







