-तरुण भारती
१६ भाद्र, ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपमा शनिवार भएको तेस्रो खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लवलाई २–० ले पराजित गर्दै पथरी –११ फुटबल क्लवले आफ्नो सेमिफाइनल स्थान सुरक्षित गरेको छ।
आफ्नो टिमका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका पथरीका निरज परियार खेलमा म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन् ।
अब पथरीको भेट फाईनल यात्राका लागि भदौ १८ गते जुट विकास फुटबल क्लवसंग हुने छ ।
त्यस्तै गरेर भोलि आइतबारको खेल रेड स्टार फुटबल क्लव बिर्तामोड र भारत दार्जिलिङको खर्साङ फुटबल क्लवबिच हुनेछ।
लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लब सहित ८ टिम सहभागी भएकाछन् । वि.स.२०२९ सालदेखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता बिगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यस अघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो ।
भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरङले बताउनुभएको छ ।







