२५ श्रावण, ताप्लेजुङ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै ताप्लेजुङका निजी विद्यालयका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय, फुङ्लिङ नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवाला पक्षसँग छलफल नगरेको र निजी विद्यालयको अस्तित्व नै धरापमा पार्ने गरी विधेयक ल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला प्याब्सन कार्यालय ताप्लेजुङको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्याब्सनका अध्यक्ष गणेश सिग्देलले निजी विद्यालयको अस्तित्व नै समाप्त हुने अवस्था सृजना भएपछि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । निजी विद्यालयहरुलाई गुठीमा लैजाँदा मोडेलको बारेमा शिक्षा मन्त्रालयले आफूहरुसँग छलफल नगरेको धारणा राख्नुभयो । उहाँले कम्पनी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयहरुलाई अहिले गुठीमा रुपान्तरण गर्न नसकिने बताउनुभयो ।

ताप्लेजुङमा २६ ओटा निजि विद्यालयमा ६ हजार १ सय विद्यार्थी अध्यापनरत छन भने करिब ३ सय ५० शिक्षक कर्मचारीले रोजगार पाइरहेको अध्यक्ष सिग्देलले बताउनु भयो। क्रमबद्ध रुपमा आन्दोलनका चरण भै रहेको र केन्द्रको कार्यक्रम बमोजिम ताप्लेजुङमा पनि निरन्तर आन्दोलन हुने बताइएको छ।







