ताप्लेजुङ । ‘डोको क्यारी रन’ नाम दिइएको (डोकोमा भारी बोकेर दौडने) प्रतियोगितामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू विजयी भएका छन् । दोश्रो औद्योगिक कृषि तथा पर्यटन मेला २०७९ का अवसरमा शनिबार आयोजित प्रतियोगितामा उनले १ घण्टा ४ मिनेट ३१ सेकेण्डमा निर्धारित दूरी पार गरेर उपाधि जितेका हुन् ।
प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोश्रो र फक्ताङलुङ गाउँपालिकाकै छत्रबहादुर बहादुर कार्की तेश्रो भए । प्रकाशले १ घण्टा ४ मिनेट ४४ सेकेण्डमा कार्कीले १ घण्टा ५ मिनेट ३० सेकेण्डमा दूरी पार गरेका थिए ।
उनीहरुलाई सदरमुकाम फुङलिङदेखि सुकेटारको सानो पाथीभरा मन्दिर हुँदै पुन: फुङलिङको कार्यक्रम आयोजनास्थलसम्म कुदाइएको थियो । यसको दूरी १३ किलोमिटर रहेको आयोजकले बताएका छन् ।
धावकहरू १५ किलो बालुवा भरेको डोको बोकेर कुदेका थिए । प्रथमलाई नगद ३० द्धितीयलाई २० र तृतीयलाई १० हजार नगदसहित पुरस्कृत गरिएको छ ।







