ताप्लेजुङ — फुङलिङ नगरपालिकाले प्रहरीसँगको समन्वयमा एक वर्षअघि यहाँको सडकको सञ्चालन एकतर्फी बनायो । सदरमुकाम फुङलिङको प्रवेशद्वार तोक्मेदेखि दोबाटो हुँदै वीरेन्द्रचोकसम्म प्रवेश मात्रै हुने र बुद्धचोक, कोठेबारी हुँदै माथिल्लो रोड भएर फर्कनुपर्ने नियम बनाइयो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङको साँघुरो सडक । सडक साँघुरो भएकै कारण ट्राफिक जामलगायतको समस्या छ ।
केही समयपछि व्यवसायीले यसमा आपत्ति जनाए । उक्त नियमले गर्दा वीरेन्द्रचोक, पुरानो बैंक लाइन, बुद्धचोक क्षेत्रका व्यापारिक केन्द्र र होटलमा गम्भीर असर परेको उनीहरूको गुनासो थियो । त्यसपछि दोबाटोसम्म पुग्न मिल्ने गरी खुकुलो बनाइयो । अन्ततः कोठेबारीमा प्रहरीले चेकिङ गर्न छाडेपछि ‘वान वे’ भंग भयो ।
जिल्ला प्रहरी प्रमुख भएर डीएसपी राजन लिम्बू आएपछि फागुनदेखि फेरि उही नियम सुरु भयो । प्रहरीले कोठेबारीबाट बुद्धचोक, पुरानो बैंक लाइन, वीरेन्द्र चोकमा प्रवेश दिएन । व्यवसायी फेरि विरोधमा नगरपालिका धाए । नगरपालिका प्रमुख अमिर मादेनले फागुन २० मा प्रहरी, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र होटल व्यवसायीलगायतका सरोकारवालालाई बोलाएर नयाँ व्यवस्था गरे ।
फागुन २० को निर्णयअनुसार बेलुका १२ देखि बिहान ६ बजेसम्म कुनै पनि सडक ‘वान वे’ हुने छैन । बिहान ६ बजेदेखि तोक्मेदेखि सदरमुकामभित्र प्रवेशमात्रै पाइनेछ । बाहिरिनका लागि कोठेबारी हुँदै माथिल्लो बाटो प्रयोग गरेर तोक्मेडाँडा निस्कनुपर्नेछ । विद्यालय लाग्ने समय बिहान ९ देखि १० र बेलुका ४ देखि ५ बजेसम्म बजारभित्र ट्रक, ट्र्याक्टर, टिपरमा लोड, अनलोड गर्न पाइने छैन । स्कुल जाने विद्यार्थीलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।
सडक साँघुरोको परिणाम पटक–पटक यस्ता निर्णय हुने गरेको स्वयं नगरपालिका प्रमुख मादेन बताउँछन् । त्यसलाई व्यवस्थित गर्न उनले सडक डिभिजन कार्यालय इलामसँग समन्वय गरेका छन् । इलामले सडक क्षेत्रभित्रका संरचना हटाउन सूचना पनि जारी गरेको छ । ३५ दिने सूचना दिएको सडकले त्यो अवधिमा कसैले पनि संरचना नहटाएपछि पुनः १५ दिने सूचना सार्वजनिक गरेको छ । सो अवधिमा पनि नहटाए अन्तिम पटक ७ दिनको सूचना निकाल्ने र नहटाए नगरपालिकाले आफैंले हटाउन थाल्ने योजना बनाएको नगरपालिका स्रोतको दाबी छ ।
सडकले पहिलो पटक सूचना जारी गर्दा सदरमुकाम क्षेत्रका उद्योगी, व्यवसायी र घर भएकाले नगरपालिका र प्रशासन कार्यालयमा नहटाउनका लागि दबाब दिएका छन् । नगरपालिका, उद्योग वाणिज्य संघको समन्वयमा भएका छलफलमा राजमार्ग १५ मिटरको बनाउने र सडक डिभिजनसँग अनुरोध गर्ने निर्णय भएको छ । त्यहीअनुसारले जम्मा १५ मिटरको बनाउने तयारी भइरहेको नगरप्रमुख मादेन बताउँछन् ।
मादेनले भने, ‘सडक साँघुरो भएका कारण धेरैवटा विकल्पमा छलफल गर्नुपर्ने भएको छ ।’ डीएसपी लिम्बूले बजारको बीचमा एउटा सवारीसाधन बिग्रिए वा लोड, अनलोड गर्नुपरे अरू सवारी चल्नै नमिल्ने गरी सडक अवरोध हुने बताउँछन् । उनले बजारभित्र सवारी पार्किङ पनि अव्यवस्थित भएको बताए । ‘एक दिन एकातिर र अर्को दिन अर्कोतिर पार्किङ गर्ने गरी ट्राफिक संकेत राखिदिने योजना बनाएको छु,’ उनले भने, ‘फरक दिनमा भए कोही एक व्यापारीलाई असर पनि पर्दैन र यातायात पनि व्यवस्थित हुन्छ ।’ सदरमुकामको प्रवेशद्वार तोक्मेदेखि दोबाटो, माथिल्लो रोड हुँदै सुकेटार मेची राजमार्ग भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
वसन्त नेम्वाङ भौतिक योजनामन्त्री हुँदा सदरमुकामवासीको अनुरोधअनुरूप तोक्मेदेखि नर्सरी हुँदै पाथीभरा प्राविसम्म वैकल्पिक राजमार्गका लागि बजेट विनियोजन गरेका थिए । मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका विभागीय प्रमुख लिएर आएका उनले त्यही बेला सर्भे गराएका थिए ।
उक्त सडक पनि निर्माण सम्पन्न भएपछि र सदरमुकामभित्रको सडक १५ मिटरको बनाइएपछि समस्याको समाधान हुने दाबी नगरप्रमुख मादेनको छ । भानु स्कुलछेउको बसपार्क र त्यसले नपुगे माथिल्लो क्षेत्रमा बसपार्क बनाएर बस, जिप, ट्र्याक्टर, ट्रक पार्किङ गराउने र सदरमुकामलाई सुन्दर बनाएर राख्ने उनले दाबी गरे । अहिले दोबाटोदेखि वीरेन्द्रचोकको सडकमा भने दमकल छिर्ने सडक छैन । दमकल सञ्चालकले यसअघि नै भित्र प्रवेश गर्न सकिने तर घुम्ने ठाउँ नभएकाले फर्कन सक्ने अवस्था नभएको जानकारी दिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।-ekantipur







