
चालू आर्थिक वर्षमा ताप्लेजुङ प्रहरीले अपराधका घटनामा संलग्न आरोपी पक्राउमा उल्लेख्य सफलता पाएको छ। चालू आव २०७९/०८० को पुस ४ गते सम्ममा ताप्लेजुङमा २१ वटा शीर्षकमा ६६ वटा घटना भएका छन्। यी घटनाका ४२ आरोपीमध्ये ३ जना बाहेक अरु सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईका अनुसार जबरजस्ती करणी, हात हतियार तथा खरखजाना र लागु औषध घटनाका १/१ जना गरी ३ जना आरोपी मात्र फरार रहेका छन्। अन्य ३९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
६६ वटा घटना मध्ये २६ वटा घटनाको फर्स्यौट गरी बाँकी ४० घटनाको फर्स्यौट प्रक्रिया कारबाहीको क्रममा रहेको समेत डिएसपी राईले जानकारी दिए। राईका अनुसार कर्तव्य ज्यानका ३ वटा घटना भएकामा सबै फर्स्यौट भएका छन्। यो घटनामा संलग्न ५ जना नै पक्राउ परिसकेका छन्।
ज्यान मार्ने उद्योगको एउटा भएकोमा त्यस घटनाका ३ आरोपी समेत पक्राउ परेका छन्। फुटकर ज्यानका २ वटा घटना भएकामा दुईवटैको फर्स्यौट बाँकी छ। बिरामी भई उपचारको क्रममा एक जनाको मृत्यु भएको घटना समेत प्रहरीकोमा दर्ता भएको छ। यस्तै भवितव्य ज्यानका १३ वटा र सवारी ज्यान सम्बन्धी एक घटना भएका छन्। यी दुई वटै मुद्दाको फर्स्यौट बाँकी रहेको प्रहरीले जनाएको छ।
भीरबाट हामफाली एक जनाको, झुन्डिएर १६ जनाको, विष खाई ३ जनाको र खोलामा हामफाली एक जनाको मृत्यु भएको घटनाको कारबाही प्रक्रिया समेत फर्स्यौट भइनसकेको र कारबाहीकै क्रममा रहेको छ। यस्तै जबरजस्ती करणीका ४ वटा घटना भएकोमा ३ वटाको फर्स्यौट सकिएको छ। यो घटनाका ५ आरोपीमध्ये ४ जना पक्राउ परिसकेका छन्। एक जना आरोपीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी उद्योगका २ वटा घटनाको फर्स्यौट गरिएको छ भने यो घटनामा २ आरोपी पक्राउ परिसकेका छन्। बहुविवाहको एउटा घटना भएकोमा सो घटनाको फर्स्यौट भई आरोपी २ जना नै पक्राउ परिसकेका छन्। अभद्र व्यवहारका ५ वटा घटना भएकोमा आरोपी ५ जना नै पक्राउ पर्दा ५ वटै घटना फर्स्यौट भइसकेको छ भने सवारी ज्यानको एउटा घटना हुँदा त्यसमा संलग्न १ आरोपी पक्राउ परी मुद्दा पनि फर्स्यौट भइसकेको ताप्लेजुङ प्रहरीले बताएको छ।
यस्तै कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी एउटा घटना भएको छ, भने यस मुद्दाका आरोपी एक पक्राउ पर्दा मुद्दा पनि फर्स्यौट भएको छ। हातहतियार तथा खरखजानाका ३ वटा घटना भएकोमा ३ वटा फर्स्यौट हुँदा घटनाका ५ आरोपी मध्ये एक आरोपी फरार छन्।
यस्तै लागु औषधका ४ वटा घटना भएकोमा ४ वटै फर्स्यौट भएका छन्। घटनाका ७ आरोपीमध्ये ६ जना पक्राउ पर्दा १ जना फरार रहेका छन्। चोरी तथा डकैतीका एक घटना भएकोमा मुद्दा फर्स्यौट भई घटनाका ४ आरोपी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका छन्।
ज्यान सम्बन्धी एक घटना भएकोमा त्यसको फर्स्यौट बाँकी रहेको छ भने राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सम्बन्धी एउटा घटनामा संलग्न एक जनालाई पक्राउ गरी मुद्दा पनि फर्स्यौट गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ। नागरिक दैनिकमा यो खवर प्रकाशित छ ।