
आत्महत्याका घटनामा अप्रत्याशित वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले जिल्लाभरका आफ्ना युनिटमार्फत अभियान तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालयले समुदायका सदस्य, विद्यार्थी तथा शिक्षक र नागरिक समाजका अगुवाहरूलाई आत्महत्या रोकथाम विरुद्ध जनचेतनामूलक कार्यक्रममा सहभागी गराई आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपाय केन्द्रित अनुशिक्षण गराउँदै आएको ताप्लेजुङ प्रहरी प्रमुख (डिएसपी) कैलाश राईले जानकारी दिए।
उनका अनुसार समुदायका सदस्यको उपस्थिति र सहकार्यमा हुने यस्ता कार्यक्रमले आत्महत्या रोकथाम तथा न्यूनीकरणका सन्देशहरू समुदायका प्रत्येक घरधुरी सम्म पुग्न सक्ने छ। गाउँ गाउँमा सञ्चालन हुने बिभिन्न औपचारिक कार्यक्रममा समेत मातहतका प्रहरी कार्यालयको अगुवाइमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपायका बारेमा जनचेतनामूलक सन्देश प्रवाह गराउने अभियानकै रुपमा कार्यक्रम सञ्चालन भइरहेको डिएसपी राईले जानकारी दिए।
मातहतका प्रहरी कार्यालयमार्फत विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले बताएको छ। स्थानीय तहसँगको सहकार्य र साझेदारीमा यस्ता अभियानलाई थप प्रभावकारी र अझ तीव्र दरमा अघि बढाउने योजना समेत प्रहरीले बनिरहेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता कुशराम कार्कीका अनुसार चालू आर्थिक बर्ष २०७९।०८० मंसिर मसान्त सम्ममा आत्महत्याका कारण २१ जनाको मृत्यु भईसकेको छ। यी मध्ये सबैभन्दा बढी १६ झुन्डिएर मरेका छन्।
भीरबाट हाम फालेर र खोलामा हाम फालेर १–१ जना गरी दुई जनाले ज्यान गुमाएका छन्। विष सेवनका कारण ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको वार्षिक घटना तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रहरीको अभिलेख अनुसार आर्थिक बर्ष २०७८।०७९ मा आत्महत्याका कारण ३५ जनाको ज्यान गएको थियो। चालू आवको पहिलो चौमासिक अवधिमै आत्महत्याको संख्या २१ पुगेपछि अवस्था यहीँ रहे आत्महत्याको रेकर्डले अघिल्लो आवको रेकर्डलाई तोड्ने देखिएको छ। यो अवस्था नियाल्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपाय बारे समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी राईले आत्महत्याको डरलाग्दो यो रुपमा सुधार ल्याउन आत्महत्या रोकथाम तथा न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्नु नै विकल्पको रुपमा रहने बताउँछन्। यसका लागि प्रहरीले समुदायसँगको सहकार्य खोजी रहेको छ।
डिएसपी राई स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी,समुदायका सदस्य र नागरिक समाजका अगुवाले जनचेतना प्रवाहको मुख्य सम्बाहकको रुपमा सहकार्य गर्न सक्नेमा विश्वास राख्छन्। ‘प्रहरीले सहजीकरण गर्छ, समुदायका सदस्यले चेतना प्रवाहको मुख्य जिम्मेवारी ग्रहण गरेर प्रत्येक घरटोल सम्म पुर्याउन सकेमा आत्महत्या रोकथाम तथा न्यूनीकरणको अभियानले क्रमशःसार्थकता पाउने छ।’ उनले भने।
विज्ञहरूका अनुसार युवा तथा किशोर किशोरी, सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्तिहरू, तनावयुक्त वैवाहिक जीवन, घरबार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू, प्रेममा असफल व्यक्तिहरू, ठुलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरू, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन्।
आत्महत्या गर्ने कारणहरूमध्ये डिप्रेसन रोगलाई प्रमुख कारणको रुपमा लिने गरिन्छ। आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरूको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी घरपरिवारका सदस्य तथा साथीभाइहरूले उपचार प्रक्रियामा सहयोग गनुपर्ने विज्ञहरूले सल्लाह दिएका छन्।नागरिक दैनिकमा यो खवर प्रकाशित छ ।