
काठमाडौ । प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले बारम्बार सार्वजनिक कार्यक्रममै अपमान महशुष गर्नु परेको छ । पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएपनि नेपालले अध्यक्षको जस्तो सम्मान पाउन सकेका छैनन् । त्यो कुरा सार्वजनिक कार्यक्रममा पटक पटक देखिएको छ ।
केही दिन अघि काठमाडौमै आयोजना गरिएको कार्यक्रममा त्यस्तो संकेत देखिएको थियो । विहिवार फेरी त्यस्तै घटना दोहोरिएको छ । माधव नेपालसमेत सहभागी कार्यक्रममा आयोजकले नै प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेपछि माधव नेपालले अप्ठेरो महशुष गर्नुपरेको छ । प्रचण्डले नै सो कुरा सच्याएपछि अवस्था सामान्य भएको थियो । तर त्यस्तो घटना पछि नेपाल आफ्नो जहाज छुट्ने वहाना वनाउँदै प्रचण्डको भाषण नसुनी कार्यक्रमवाट निस्किएका छन् ।
बिहीबार नेकपाले सर्लाहीको हरिपुर९ १ हजारबिघामा आयोजना गरेको पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा यस्तो अपमान सहनु परेको हो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए।
कार्यक्रमको सञ्चालक नेकपाका सर्लाही जिल्ला सचिव कमल बुढाथोकीले आसन ग्रहण गराउने क्रममा प्रचण्डलाई प्रमुख अतिथि र नेपाललाई विशेष अतिथि भनेर सम्बोधन गरे । दुई अध्यक्षलाई प्रमुख अतिथि भनेर प्रचार गरिएको कार्यक्रममा बुढाथोकीले प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेर सम्बोधन गरेपछि सबै अचम्म परे ।
कार्यक्रमा सहभागी र प्रचण्ड नेपालले पनि मुखामुख गरे । प्रचण्ड आफैले सो कुरा सच्याउन लगाएपछि बुढाथोकीले माफी माग्दै आफ्नो अभिब्यक्ति सच्याए । सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठपछि अध्यक्ष माधव नेपाललले सम्बोधन गरेका थिए। आफ्नो प्लेन छुट्ने भन्दै अध्यक्ष नेपाल प्रचण्डको भाषण नसुनि सिमरा प्रस्थान गरेका थिए। सम्बोधनको क्रममा नेपालले आफ्नो अधिकांश समय नेता वाग्लेको पंशंसामा खर्चिएका थिए।