जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
सदरमकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन माग गरिरहेका छन् । “हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नुपर्छ । बाटो खराब हुँदा ट्याम्पोलगायत सस्तो भाडाका सवारी ल्याउन सकिन्न”, स्थानीयवासी नरेन्द्र राईले भने, “भ्यान र पिकअप ल्याउनु पर्दा सागसब्जीको पूरै दामले पुग्दैन ।” सडकको सामान्य स्तरोन्नति भए पनि पूर्ण नभएको उनीहरूको भनाइ छ । भएपछि मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायत दलका उम्मेदवारसँग मतदाताले आफ्ना माग बढी रूपमा राखिरहेका छन् ।
यहाँ बस्ती एकीकृत छैनन्, तर सबै बस्तीका माग भने बाह्रैमास चल्ने सडक, खानेपानी, विद्युत्, सिँचाइलगायत छन् । स्थानीयवासीका मागअनुसार न त केही वर्षमै बाह्रैमास चल्ने सडक निर्माण हुन सक्छन्, न अरु सुविधा नै पुग्छ । तै पनि माग सम्बोधन हुने अपेक्षाले स्थानीयवासी उम्मेदवारको ध्यानाकर्षण गराइरहेका छन् । कतिपय स्थानका स्थानीयवासी नेताहरु भोट माग्ने बेलामा मात्रै मुख देखाउने गरेको बताउँछन् । फिदिम नगरपालिका–८ कमेरेका स्थानीयवासी निर्माणाधीन खानेपानी आयोजनामा ढिलाइ हुँदा कसैले वास्ता नगरेको गुनासो गरिरहेका छन् । प्रत्येक गाउँ बस्तीमा स्थानीयवासीले अत्यावश्यक विषयलाई नै मागका रूपमा उठाइ रहे पनि तिनको तत्कालै सुनुवाइ हुने स्थिति भने देखिँदैन । उम्मेदवारले आफू विजयी भएमा समस्या समाधान गरिदिने वचन त दिइरहेका छन्, तर उम्मेदवारलाई नागरिकका आवश्यकता पूरा गर्ने सामर्थ्य जुटाउन भने कठिन देखिन्छ ।







