काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना उम्मेदवार नभएका स्थानमा समानुपातिकतर्फ अत्याधिक मत खसाउन पार्टी पंंक्तिलाई अपिल गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले यस्तो अपिल सार्वजनिक गरेका हुन् ।
अपिलमा भनिएको छ, ‘राजनीतिक रुपमा मात्र होइन, सामाजिक रुपमा समेत प्रतिकूल अवस्थामा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नु परेको हो । कोरोनाको महामारीकाबीच खोप नपाएर अलपत्र परेका नागरिकको जीउज्यानको रक्षा कांग्रेसले नै गरेको हो । अब पनि स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षामा जिम्मेवारपूर्ण ढंगमा काम गर्ने सङ्कल्प कांग्रेसले लिएको छ ।’
अबको पुस्ताले आन्दोलन गर्नु नपरोस् भन्ने कांग्रेसको चाहना रहेको बताउँदै आगामी निर्वाचनमा मत खसाउन कांग्रेसले आग्रह गरेको हो ।
संयोजक श्रेष्ठले भनेका छन्, ‘यो आमनिर्वाचनमा समानुपातिकतर्फ रुख चिन्हमा छाप लगाई नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले जिताउनुका साथै प्रत्यक्षतर्फ लोकतान्त्रिक-बाम गठबन्धनलाई विजयी गराउनुहुन म तमाम दिदीबहिनी दाजुभाइ तथा पार्टीका सहकर्मी साथीहरुमा हार्दिक अपिल गर्दछु ।’
त्यस्तै, गठवन्धनमा जानु परेर्दा पार्टीका थुप्रै साथीहरूको यस निर्वाचनमा उम्मेदवार बन्ने इच्छा पूरा हुन नसकेको र यसको मुल्यांकन पार्टीले निकट भविष्यमा गर्ने श्रेष्ठले जनाएका छन् ।








